स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले आयोगले यस्तो निर्देशन दिएको हो।
आयोगले निर्वाचन आचारसंहिता, २०८२ पूर्णरूपमा लागू भइसकेको स्मरण गराउँदै यसको पालना गर्नु सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षको दायित्व भएको स्पष्ट पारेको छ। आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
स्थानीय तहका केही जनप्रतिनिधि राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको भनी प्राप्त उजुरीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू कार्यरत स्थानीय तहबाहेक अन्य स्थानीय तहमा प्रचारमा सहभागी हुन सक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। साथै, आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ।


































