हेटौंडा। बागमती प्रदेश सरकार ले प्रदेशभर माटो परीक्षणलाई अभियानकै रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ।
मधुसूदन पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्रीले चितवनको भण्डारा मा आयोजित आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार किसानहरूले लामो समयदेखि एउटै बाली निरन्तर लगाउने प्रवृत्तिका कारण माटोमा अम्लीयपन बढ्दै गएको छ, जसले उत्पादनमा गिरावट ल्याएको छ। “अब माटो परीक्षण अनिवार्य रूपमा अघि बढाइनेछ। परीक्षणको वैज्ञानिक आधारबिना उत्पादन वृद्धि सम्भव छैन,” मन्त्री पौडेलले भने।
त्यसैगरी, प्रदेश सरकारले अनुदान प्रणालीमा व्यापक सुधार गर्ने संकेत दिएको छ। वितरणमुखी अनुदानलाई निरुत्साहित गर्दै अब उत्पादनमा आधारित, ब्याज अनुदान तथा नवयुवा लक्षित कार्यक्रमलाई मात्र प्राथमिकता दिइने उनले स्पष्ट पारे। “उत्पादनसँग सम्बन्धित नभएका अनुदान अब बन्द गरिनेछन्,” उनले जोड दिए।
कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी ले प्रदेश सरकारको लगानीमा निर्माण भएको धुलोदूध कारखाना सञ्चालनका लागि स्पष्ट मोडालिटी आवश्यक रहेको बताए। उनले दुग्ध विकास बोर्ड का निर्देशकलाई सञ्चालन ढाँचा चाँडो तयार गर्न निर्देशन दिएका छन्।
साथै, मन्त्रालय मातहतका निकायहरूको वित्तीय अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ। कुल ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा पशुपन्छी तथा मत्स्य निर्देशनालयकै ३८ करोड रुपैयाँ रहेको तथ्य सार्वजनिक गर्दै सचिव अधिकारीले प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
भोलिसम्म सञ्चालन हुने गोष्ठीमा प्रदेशअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुख, तालिम केन्द्रका प्रतिनिधि तथा निर्देशनालय प्रमुखहरूको सहभागिता रहेको छ। पहिलो दिन विभिन्न कार्यालयहरूले आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।


































