आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदान सुरु हुनुभन्दा ७२ घण्टा अघि नै नेपाल–भारत र नेपाल–चीनका सम्पूर्ण अन्तर्राष्ट्रिय नाका बन्द गरिने भएको छ। मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृह मन्त्रालयका उच्च अधिकारी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले निर्वाचन अवधिभर सुरक्षा सतर्कता उच्च बनाउने रणनीति तय गरेको छ।
निर्णयअनुसार मतदानअघि मादक पदार्थको बिक्री–वितरणमा पूर्ण रोक लगाइनेछ। साथै, फागुन १९ गते तराई क्षेत्रमा मनाइने होली पर्व र जनकपुरमा आयोजना हुने माध्यमिकी परिक्रमा मेलाको सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ। मौन अवधिमा होलीलाई संयमित बनाउन र भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमन नियन्त्रण गर्ने समयसीमा आयोगले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
उच्च हिमाली जिल्लाहरूमा जारी हिमपातले मतपेटिका तथा निर्वाचन सामग्री ढुवानीमा चुनौती थपिन सक्ने विषयमा पनि बैठकले चासो दिएको छ। प्रतिकूल मौसमका बीच कर्मचारी र सुरक्षाकर्मीको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक योजना तयार पारिने र सामग्री सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउने व्यवस्था मिलाइने आयोगले जनाएको छ।
एकीकृत सुरक्षा योजना अन्तर्गत काम भइरहेको जनाउँदै आयोगले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको छ।


































