खाडी क्षेत्रमा बढेको सैन्य तनावका कारण स्थगित उडानहरू तीन दिनपछि आंशिक रूपमा पुनः सञ्चालनमा आएका छन्। दुबई र अबुधाबी विमानस्थलबाट हिजो बेलुकादेखि सीमित सङ्ख्यामा उडान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पूर्ण रूपमा नियमित तालिकामा फर्किन अझै समय लाग्ने विमानस्थल प्रशासनले जनाएको छ।
यसअघि खाडी क्षेत्रमा इरानले आक्रमण गरेपछि सुरक्षाको कारण देखाउँदै धेरै उडान रद्द गरिएका थिए। पछिल्लो घटनाक्रमले मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।
यसैबीच, इरानले खाडी राष्ट्रहरूप्रति कुनै शत्रुता नरहेको स्पष्ट पारेको छ। अब्बास अराघचीले अमेरिकी सैन्य अखडा लक्षित रक्षात्मक कारबाही गरिएको दाबी गर्दै त्यसलाई खाडी देशविरुद्धको आक्रमणका रूपमा नहेर्न आग्रह गरेका छन्।
अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा आयोतोल्लाह अली खामेनी र अमिर नसिरजादेहसहित केही सैन्य अधिकारी मारिएको दाबी गरिएको छ। घटनापछि क्षेत्रीय सुरक्षा सतर्कता बढाइएको छ भने दुबई, अबुधाबी र कुवेतका विमानस्थल उच्च निगरानीमा राखिएका छन्।
तनाव कायमै रहेकाले यात्रुहरूलाई उडान अवस्थाबारे सम्बन्धित एयरलाइन्ससँग जानकारी लिएर मात्र यात्रा योजना बनाउन सुझाव दिइएको छ।एजेन्सी


































