हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा लाई बलात्कार गर्ने धम्की आइरहेको खुलेको छ । मेयर लामाले आफ्नै सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफूलाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप तथा फेसबुकमै पोस्ट लेखेर समेत सामूहिक बलात्कार गर्ने धम्की आइरहेको जानकारी दिएकी छन् ।
हालै जेनजी आन्दोलनका क्रममा मधेसका विद्यार्थीलाई नगरको अधिकार क्षेत्र बाहिर रहेर छात्रवृत्ति दिनुपर्ने दबाब आएपछि, नगरले पहिलो प्राथमिकता आफ्नै नगरवासी नागरिकलाई दिनुपर्ने बताएको कारण उनलाई विवादमा तानिएको थियो ।त्यसक्रममा नगरपालिकाको कार्यालय र घरमा समेत आगजनी गरिएको थियो। सो घटनापछि मेयर लामाले सार्वजनिक रूपमा माफी समेत मागेकी थिइन् । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहर घोषणा गर्न सहयोगी संस्थासँग सम्झौता गर्दै गर्दा, उनले फेसबुकमार्फत आफ्नो मनको चिन्ता व्यक्त गरेकी हुन् ।
मेयर लामाले लेखेकी छन् —
महिला भएर जन्मनु जति गर्व छ । नेपाली समाजमा महिला भएर बाच्नु त्यति कठिन पनि छ । अझ जेनजी आन्दोलन पछि मैले नेपाली समाजको वास्तविक अनुहार देखेको अनुभव गरेकी छु ।मैले हेटाैडा उपमहानगरपालिकाकाे क्षेत्राधिकारकाे कुरा गर्दै हरेक नगरले पहिलो प्राथमिकता आफ्ना नगरवासीलाई दिन्छ । यसै कारण सबैले आआफ्नो नगरलाई झकझाकाउनु पर्छ , मात्रै के भनेकी थिएं ।मलाई मधेश प्रदेशको विरोधी बनाएर अनेक गरियो । अहिलेलाई मै गलत भइदिन्छु भनेर दुई पटक माफी मागे मेराे माफीले के मानथ्याे ।
‘फेस बुक र ह्वाट्स यााप’ का inbox मा मलाई बलात्कार गर्ने धम्कीका सूचनाहरू मैले पढि नसक्नुका थिए । अनि राति राति फोन गरेर एक पटक भेटेर बसेर घटनाबारेकाे विवाद टुङ्याउने प्रस्ताव कतिकति । हर कुनै वडाले पहिला आफ्नो वडा बनाउने जिम्मा लिन्छ , त्यस्तै नगरले पहिला आफ्नो नगर बनाउछ । त्यस पछि अन्य नगरलाई साथ सहयोग गर्ने हो ।मेरो व्यक्तिगत कुरा गर्दा आज पनि दर्जन बढी बालबालिकालाई सहयाेग गरेकी छु । पढाएकी छु । ती मधेश, पहाड या हिमाल जहाँका पनि छन् । तर सरकारी निकायको नियम कानूनको वस्तै नगरी बोलेर मात्रै काम गर्न सकिन्न्। मैले हल्लाको पछि नलागी शान्त भएर वास्तविक कुरा गर्दा यसरी लखेटियाे कि मलाई बलात्कार गरे पछि हेटाैडाका केही युवाहरू शान्त हुनेवाला थिए ।
मेराे नजिक बनेर म बाट जायज नाजायज फाइदा लिन खाेज्दा नसकेर हैरानी खेपेका ( मेराे पर्दा पछाडि बसेर मलाई बलात्कृत बनाउन खाजेका तथाकथित ) हरूले कलिला किशोरकिशोरीहरू प्रयोग गरेको देख्दा नेपाली तथाकथित सचेत पुरूषकाे कुरूप अनुहार छर्लङ्ग देखे ।जेनजीआन्दोलन पछि मैले भोगेको पीडाका आधारमा म ठाेकेर भन्न सक्छु नेपाली कुनै पनि महिल सुरक्षित छैनन् ।असुरक्षाका लागि सबै पुरूषहरू राक्षस बन्नु नपर्ने रहेछ । वहुमत सज्जन पुरूषकै अगाडि नेपाली महिला खुलेयाम बलातकृत हुन सक्ने रहिछन् ।एउटा उपमहानगरपालिकाकाे प्रमुखलाई बलात्कार गर्ने धम्कीका सन्देश निरन्तर आउनु र सार्वजनिक रूपमा समेत सामाजिक संजालमा लेख्नुले यो समाजमा सामान्य नारीहरू सुरक्षिछ्त छ्न त ?????
यही समयमा हेटाैडा उपमहानगरलाई महिला मैत्री सहर घाेषणा गर्नका लागि केही काम हुँदैछन् । मनमा उदासी पन र उमंग दुवै खेलिरहेका छन् ।
महिला मैत्री सहर घाेषणा गर्नका लागि आज मिति २०८२/०७/१८ गते सहयोगी दाता संस्था UNOPS संग सम्झौता गरिरहँदा मलाई बलात्कार गर्ने चाहना राख्दै सन्देश पठाउने ती युवाहरूलाई झलझली सम्झिरहेकी छु ।
याे उपमहानगरपलिका महिला मैत्री सहर घाेषणा भएसँगै एउटी महिला ( अझ नगर प्रमुख) ले बलात्कारको धम्की सहनु पर्ला कि नपर्ला ?
एउटी महिला ( नगर प्रमुख) ले गल्ती गरिछिन भने उनी। माथिकाे सजाय बलात्कार ( अझ बजारमा ल्याएर सामुहिक) होला कि अन्य कानुनी सजाय होला ???
मन भारी बनेको छ ।
तथापि एउटा मह्त्वपूर्ण काम हेटाैडा उपमहानगरपालिका भित्रका आमा र दिदीबहिनीका लागि भएको छ । यो महत्वपूर्ण कार्यमा UNOPS का Country Director कोमल कार्की ,सरोज दाहाल र सम्पदा थापा प्रति हार्दिक आभार प्रकट गर्दछु ।
यसै गरी यो कार्यको सम्झौतामा सकृय रहनु भएका वडा नं.८ का अध्यक्ष राम थापा र वडा ४ का अध्यक्ष नविन सिग्देल लगायत वडा अध्यक्षहरू ,प्रमुख प्रशासकीय अधिकृत भरत गौतम इन्जिनियर बिनित ओझा लगायत नगर कर्मचारी ,सरोकारवाला निकायहरू र नगरका प्रबुध्द व्यक्ति ,संचारकर्मी सबैमा हार्दिक आभार ! धन्यवाद ।
फेरि पनि भन्छु ,एउटी नारी बलातकृत हुन जन्मएकी हाेइन । एउटी नारीकाे उपयाेगिता याेन होइन । एउटी नारीले गरेको गल्तीको सजाय बलात्कार होइन । एउटी नारीलाई बलात्कार मात्रै सोच्ने पुरूष ( युवा)ले आफ्नो आमा,दिदीबहिनी,छोरी पनि सम्झनुस ।
सहरलाई महिला मैत्री घाेषणाा गर्नु ठूलाे कुरा भएन नकरात्मक चिन्तनलाई सकरात्मक घाेषणा गराउनु चुनाैतीकाे कुरा हाे ।