नेपालकी कराते खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय कराते मञ्चमा नयाँ इतिहास कोरेकी छन् । टर्कीको इस्तानबुलमा सम्पन्न डब्लूकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ केजीभन्दा माथि तौल समूहमा उनले रजत पदक जितेकी हुन् ।
गएराति भएको फाइनल खेलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४–२ ले पराजित भए पनि उनको प्रदर्शन ऐतिहासिक रह्यो । कराते वान प्रिमियर लिगमा रजत जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
फाइनलसम्मको यात्रामा एरिकाले एकपछि अर्को बलियो प्रतिस्पर्धीलाई पराजित गर्दै आफ्नो क्षमताको प्रमाण दिइन् । गएको वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जितेकी एरिकाले यस पटक त्यो उपलब्धिलाई अझ माथि उकास्दै फाइनल प्रवेश गरिन् ।
लगातार दुई संस्करणमा पदक जित्दै एरिकाले नेपाली करातेलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाएकी छन् । उनको यो सफलताले नेपाली खेलकुदमा थप उत्साह र आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ ।






















































