मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा डिजेल बोकेको ट्याङ्करमा आगलागी हुँदा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।
सोमबार अपराह्न करिब ४:२० बजे अमलेखगंजबाट रुपन्देहीतर्फ गइरहेको लु १ ख ६६०९ नम्बरको डिजेल ट्याङ्कर चलिरहेको अवस्थामै इन्जिन भागबाट अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा खटिएको टोली तथा रातोमाटे प्रहरी चौकीका ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।
आगो निभाउन हेटौंडा उपमहानगरपालिका र अमलेखगंज आयल निगम, बाराबाट आएको गरी दुईवटा दमकल प्रयोग गरिएको थियो। दमकलको सहयोगमा आगो साँझ ५:०५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
आगलागीबाट ट्याङ्करको अगाडिको भागमा क्षति पुगे पनि डिजेल भरिएको मुख्य भाग सुरक्षित रहेको जनाइएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। हाल उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
ट्याङ्कर चालक रुपन्देहीको सैनामैना नगरपालिका–३ का ५८ वर्षीय कृष्णबहादुर थापा रहेको र उनी मात्र सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइएको छ।






















































