हेटौँडामा खैरो हेरोइन र ट्रामाडोलसहित दुई पक्राउ

हेटौँडामा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले अवैध पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियमित गस्तीका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचबाट उनीहरू पक्राउ परेका हुन्।

मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२, सोलामारी चोकबाट प्रहरीले करिब १ सय ५० मिलिग्राम खैरो हेरोइन र ३ सय ९ ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा हेटौँडा–१३ बनस्पती बस्ने ३८ वर्षीय निर बहादुर भोलन सहित अर्का एक व्यक्ति रहेका छन्।

नेपाल प्रहरीको प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले बागमती प्रदेश ०३–००५ प २४१३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई रोकेर जाँच गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको साथबाट लागूऔषध फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि निगरानी बढाइएको छ। विशेषगरी शहरी क्षेत्रमा सवारी साधन प्रयोग गरेर लागूऔषध ल्याउने–लैजाने प्रवृत्ति बढ्दै गएकाले चेकजाँचलाई कडाइ गरिएको छ।

पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.