हेटौंडा । बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ हजार ६ सय ५८ सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय बागमतीको तथ्यांकअनुसार ती दुर्घटनामा परी २८१ जनाले ज्यान गुमाएका छन् भने ३ हजार २ सय ९६ जना घाइते भएका छन्।
तथ्यांकले प्रदेशमा सडक दुर्घटनाको चुनौती अझै गम्भीर रहेको देखाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ४ सय २२ दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ५ सय ३६ दुर्घटनामा ३१५ जनाले ज्यान गुमाएका थिए।
दुर्घटनाको हिसाबले चितवन सबैभन्दा जोखिमयुक्त जिल्ला बनेको छ। चालु आर्थिक वर्षको १० महिनामा मात्रै चितवनमा ४ सय ८४ दुर्घटना भएका छन्। ती घटनामा ८९ जनाको मृत्यु, ८७ जना गम्भीर घाइते तथा ८ सय ९ जना सामान्य घाइते भएका छन्। गत आर्थिक वर्षमा चितवनमा दुर्घटनाका कारण १२० जनाले ज्यान गुमाएका थिए।
मृत्यु हुनेको संख्यामा चितवनपछि मकवानपुर दोस्रो स्थानमा रहेको छ। मकवानपुरमा चालु आर्थिक वर्षमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्षमा ४ सय ७ दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो।
प्रदेश प्रहरी कार्यालय बागमतीका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मी का अनुसार सडकको दुरावस्था, चालकको लापरबाही, सवारी साधनको बढ्दो चाप तथा बाढी–पहिरोजस्ता प्राकृतिक जोखिम दुर्घटना बढ्नुका प्रमुख कारण हुन्। जोखिमयुक्त सडक खण्डमा सुधार र सचेतना अभिवृद्धि नगरे दुर्घटनाको दर अझ बढ्न सक्ने प्रहरीको भनाइ छ।

















