बागमतीका उत्कृष्ट चालक–सहचालक सम्मानित, सबैभन्दा बढी पुरस्कार मकवानपुरलाई

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात क्षेत्रमा दीर्घकालीन, दुर्घटनारहित तथा अनुशासित सेवा पुर्‍याएका चालक र सहचालकलाई सम्मान गरेको छ।

शुक्रबार भरतपुर महानगरपालिका–१ स्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका उत्कृष्ट चालक तथा सहचालकलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो।

पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरको समन्वयमा आयोजित कार्यक्रममा १६ जना चालकलाई जनही २० हजार रुपैयाँ र १६ जना सहचालकलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको मन्त्रालयले जनाएको छ। सम्मानितमध्ये सबैभन्दा बढी संख्या मकवानपुर जिल्लाका चालक तथा सहचालकको रहेको बताइएको छ।

मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलको अध्यक्षता तथा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मानपत्र वितरण गरिएको थियो। हेटौंडा–काठमाडौं, हेटौंडा–सिन्धुलीलगायत विभिन्न रुटमा लामो समयदेखि सेवा दिँदै आएका चालक तथा सहचालकहरूको कार्यसम्पादन, अनुशासन, दुर्घटनामुक्त सेवा र जिम्मेवारी बहनको मूल्याङ्कनका आधारमा सम्मान गरिएको जनाइएको छ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले यातायात क्षेत्रलाई विकृति र अव्यवस्थाबाट मुक्त बनाउन चालक तथा सहचालकहरूको भूमिका महत्वपूर्ण हुने बताए। उनले चुनौतीहरूबीच पनि सेवामुखी र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिए।

महाशाखा प्रमुख गजुरेलले दुर्घटनारहित सेवा, अनुशासन र पेशाप्रतिको जिम्मेवारीलाई आधार बनाएर सम्मान प्रदान गरिएको जानकारी दिइन्। उनले श्रमको सम्मान र सार्वजनिक यातायात सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। साथै गत वर्षको तुलनामा यस वर्ष महिला सहभागिता घटेकोप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा महिलाको सहभागिता बढाउन आवश्यक रहेको बताइन्।

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेल तथा यातायात क्षेत्रका विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.