हेटौंडा । सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तार गर्ने उद्देश्यले बागमती प्रदेशका ६ जिल्लामा भाषा अभिमुखीकरण अभियान सञ्चालन गरिएको छ।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, चितवन र सिन्धुली जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गरी तामाङ र नेपाल भाषासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
नेपाल तामाङ घेदुङका संघीय उपमहासचिव तथा भाषा कार्यक्रम संयोजक बिलाम मोक्तानका अनुसार ‘भाषिक अधिकारको कार्यान्वयन, मातृभाषाको संरक्षण र सरकारी कामकाजमा स्थानीय भाषाको प्रयोग’ भन्ने मूल उद्देश्यसहित प्रदेशव्यापी अभियान सञ्चालन गरिएको हो।
उनले १४ जेठमा सिन्धुपाल्चोकबाट सुरु भएको कार्यक्रम २० जेठमा सिन्धुलीमा पुगेर सम्पन्न भएको जानकारी दिए।
अभिमुखीकरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय पदाधिकारी, नेवा देयः दबूका प्रतिनिधि, स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष, कर्मचारी, भाषा अभियन्ता तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
पहिलोपटक सञ्चालन गरिएको यस अभियानले मातृभाषालाई सरकारी सेवा प्रवाह, सूचना प्रणाली, अभिलेख व्यवस्थापन तथा शिक्षासँग जोड्दै लैजानुपर्ने आवश्यकता उजागर गरेको कार्यक्रम संयोजक मोक्तानले बताए।
उनका अनुसार मातृभाषाको संरक्षण, प्रवर्द्धन तथा सरकारी संरचनाभित्र यसको प्रयोग सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। यस अभियानले स्थानीय भाषालाई प्रशासनिक अभ्यासमा समावेश गर्ने विषयमा थप बहस र पहललाई बल पुर्याउने अपेक्षा गरिएको छ।
























