फिफा विश्वकप– २०२६ : उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात

फिफा विश्वकप–२०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकामाथि २–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले पहिलो हाफदेखि नै खेलमाथि नियन्त्रण जमाएको थियो।

मेक्सिकोलाई अग्रता दिलाउने काम खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गरे। एरिक लिराको आकर्षक क्रसलाई उनले उत्कृष्ट फिनिस गर्दै विश्वकप–२०२६ को पहिलो गोल दर्ता गरेका थिए। त्यसपछि पनि मेक्सिकोले लगातार दबाब सिर्जना गरिरह्यो भने दक्षिण अफ्रिका लय समात्न संघर्षरत देखियो।

दोस्रो हाफमा खेल थप नाटकीय बन्यो। ५०औँ मिनेटमा दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। संख्यात्मक रूपमा कमजोर बनेको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले ६७औँ मिनेटमा राउल जिमिनेजको हेडरमार्फत दोस्रो गोल थप्यो।

दक्षिण अफ्रिकाको संकट त्यतिमै रोकिएन। ८४औँ मिनेटमा थेम्बा ज्वानेले पनि रातो कार्ड बेहोरेपछि टोली ९ खेलाडीमा सीमित बन्यो। इन्जुरी समयमा मेक्सिकोका कप्तान सेजार मोन्टेसले पनि रातो कार्ड पाएसँगै उद्घाटन खेल तीन रातो कार्डले भरिएको दुर्लभ प्रतिस्पर्धा बन्यो।

२–० को जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको सुरुवात घरेलु समर्थकमाझ सुखद बनाएको मेक्सिकोले अब आफ्नो दोस्रो खेल दक्षिण कोरियाविरुद्ध खेल्नेछ भने दक्षिण अफ्रिकाले चेकिया (चेक रिपब्लिक) को सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.