मकवानपुर, आगामी आर्थिक वर्ष २०८३/०८४ मा संघीय सरकारले मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन हुने विभिन्न विकास योजनाका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट तथा कार्यक्रमअनुसार विभिन्न मन्त्रालयमार्फत नगरपालिकासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सम्बन्धित योजनाहरूमा रकम छुट्याइएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत थाहा नगरपालिकालाई लक्षित गरेर छुट्टै बजेट उल्लेख नगरिए पनि नगर क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने सडक तथा पुल आयोजनाहरूमा बजेट व्यवस्था गरिएको छ। मन्त्रालयको कार्यक्रमगत बजेट विवरणअनुसार त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–भैँसे–लामीडाँडा–पालुङ–टायलघर सडकखण्डका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै त्रिभुवन राजपथ सुधारका लागि थप ३ करोड तथा बाघझोरा खोलामा पुल निर्माणका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।
शहरी विकासतर्फ टिष्टुङ र खैराङ स्वास्थ्य चौकी भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। सिमभञ्ज्याङ पर्यटन सूचना केन्द्र तथा पार्क निर्माणको अधुरो काम सम्पन्न गर्न १ करोड २० लाख ९२ हजार रुपैयाँ व्यवस्था गरिएको छ।
त्यसैगरी थाहा नगरपालिका एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रमका लागि ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ। पालुङ र दामन बजार क्षेत्रमा शहरी पूर्वाधार विस्तार तथा स्तरोन्नतिका लागि थप ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
संघीय बजेटमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका शहरी सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ समावेश गरिएको छ। साथै थाहा नगरपालिका–७ र ८ लाई जोड्ने जामुने–कपासे पक्की पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ तथा थानाबजार–पालुङ–फेदीगाउँ–चिसापानी–चल्ती सडक स्तरोन्नतिका लागि २ करोड ८५ लाख ४७ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
संघीय सरकारको यस बजेट विनियोजनले थाहा नगरपालिकामा सडक सञ्जाल विस्तार, शहरी पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा पर्यटन प्रवर्द्धनका योजनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
























