हेटौंडा–१९ बाँसघारीस्थित श्री कालिका आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ। यो कुनै बाह्य निकाय वा आयोजनाको कार्यक्रम नभई विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा आमा समूहको सक्रिय सहभागितामा सुरु गरिएको नयाँ अभियान हो।
विद्यालयका प्रधानाध्यापक हिमराज देवकोटाको विशेष पहल र नेतृत्वमा सुरु गरिएको कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान तथा जीवनोपयोगी सीपसँग जोड्ने लक्ष्य राखेको छ। विद्यालय परिसरभित्र सञ्चालन गरिएको करेसाबारीमार्फत विद्यार्थीहरूले खेतीपातीका आधारभूत विधि, बीउ छनोट, रोपाइँ, गोडमेल, सिँचाइ तथा तरकारी उत्पादनसम्बन्धी सीप प्रत्यक्ष रूपमा सिक्न पाउनेछन्।
प्रधानाध्यापक देवकोटाका अनुसार विद्यालय करेसाबारी केवल तरकारी उत्पादन गर्ने स्थान नभई विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने प्रभावकारी सिकाइ केन्द्र हो। “यस कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, जिम्मेवारीबोध, आत्मनिर्भरता तथा समूहमा मिलेर काम गर्ने संस्कार विकास गर्न मद्दत पुर्याउँछ,” उनले बताए।
कार्यक्रमबाट उत्पादन हुने ताजा तरकारी विद्यालयको दिवा खाजा तथा पोषणसम्बन्धी कार्यक्रममा उपयोग गर्न सकिने जनाइएको छ। यसले विद्यार्थीमा स्वस्थ खानपानको बानी विकास गर्नुका साथै पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विद्यालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्य समेत बोकेको करेसाबारी कार्यक्रमले विद्यार्थीलाई जैविक खेती, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको सदुपयोगबारे व्यावहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ।
विद्यालय परिवारका अनुसार करेसाबारीबाट प्राप्त अतिरिक्त उत्पादन बिक्री गर्न सकिएमा विद्यालयको केही खर्च व्यवस्थापनमा समेत टेवा पुग्नेछ। यसले विद्यालयलाई आत्मनिर्भरताको दिशातर्फ उन्मुख गराउने विश्वास गरिएको छ।
विद्यालय प्रशासनले करेसाबारी कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।
























