नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूमाथि भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।
संघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सरकारी, निजी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुनेछ भने ओपीडीसहित अन्य सबै सेवा बन्द रहनेछन्।
संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहितका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा उनीहरू घाइते भएका थिए। आक्रमणका क्रममा अस्पतालमा तोडफोडसमेत भएको संघले जनाएको छ।
घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा प्रहरीबाट चिकित्सकहरूमाथि बल प्रयोग, गालीगलौज र दुर्व्यवहार गरिएको आरोप पनि संघले लगाएको छ।
संघले चिकित्सकमाथिको हिंसा र दुर्व्यवहार अस्वीकार्य भएको भन्दै दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेको छ। माग सम्बोधन नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ।















