काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको छत्रछायामा भक्तपुरस्थित गुन्डुमा बस्दै आएका छन् । गत २३ र २४ को जेनजी आन्दोलन सिंसात्मक बनेपछि सत्ता छाडेर भागेका ओली १० दिनसम्म नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बसेर बाहिरिएका थिए ।
असोज २ गते सेनाको सुरक्षा घेराबाट निस्किएर सुटुक्क गुन्डु पुगेका अध्यक्ष ओलीलाई सयौं नेता कार्यकर्ताले घेरे पनि उनको मुहारमा चमक थिएन । आन्दोलनकारीले ओलीको घर जलाएर खरानी बनाएकाले नेता महेश बस्नेतको विशेष योजनामा उनलाई गुण्डुस्थित व्यक्तिको घरमा बासको व्यवस्था गरिएको छ । घरविहीन भएपछि डेरा सरेका ओलीले निवासबाटै राजनीतिक ‘वामअप’ थालेका हुन् ।
तर, उनको अनुहारमा अझै चमक देखिएको छैन । मलीन अनुहारमा देखिएका ओलीलाई महेश बस्नेतसहित युवासंघमा आबद्ध युवाले भव्य स्वागत गरे । उनले आइतबार पार्टीको सचिवालय बैठकसमेत गुन्डुमै बोलाएका छन् । मुलुकको पछिल्लो परिस्थितिलाई सामान्यीकरण गर्दै विस्तारै पार्टीका गतिविधि गर्ने योजनामा रहेका ओलीले आइतबार पार्टीको सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । घटना भएको तीन साता बितिसक्दा समेत पार्टीको औपचारिक छलफल गर्न नसकेको एमाले आइतबार ओली निवासमै बैठक बस्ने तयारी भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
‘मुलुकको पछिल्लो परिस्थिति र पार्टीको आगामी योजनाका सन्दर्भमा सचिवालय बैठकमा छलफल हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रम र राजनीतिका नाममा गरिएका आपराधिक गतिविधिलाई एमालेले गम्भीर रूपमा लिएरको छ,’ पोखरेलले मध्यान्हसँग भने । ओली संविधान दिवस ९३ असोज०कै दिन सार्वजनिक हुने र पार्टी निकटका युवाहरूले खुसियाली मनाउँदै ओलीलाई स्वागत गर्न सडकमा निस्कने योजनामा रहे पनि त्यो दिन उनी सार्वजनिक हुन सक्ने वातावरण बनेन । एमालेसहित राजनीतिक दलहरूलाई युवाहरूको आन्दोलनले पार्टी पुनर्संरचना गरेर नयाँ नेतृत्व खोजीको सन्देश दिए पनि युवासंघले अध्यक्ष ओलीलाई राजनेताकै उपमा दिएर स्वागत सत्कार गरिरहेका छन् ।
पार्टी बैठक राखेर थप सक्रिय हुने तयारी गरेका ओलीलाई पार्टीकै एकाथरी नेताहरूले स्वीकार गरेका छैनन् । पार्टी नेतृत्व हस्तान्तरण गरेर एमालेलाई पुनर्संरचित गर्नुपर्ने एमाले सचिव योग भट्टराईले बताए । एमाले र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नेबेला आएको भन्दै नेतृत्वको सम्मानसहित पुनर्गठनको प्रस्ताव अघि सारेको उनको भनाइ छ । ‘पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न खोजिएको होइन । कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’
गत साता आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका ओलीले असोज ११ गते खुला कार्यक्रमलाई पहिलोपटक सम्बोधन गरे । दसैंको पूर्वसन्ध्यामा युवा संघ नेपालले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछिको मुलुकको परिस्थितिलाई जेनजीका नाममा आतंकको संज्ञा दिएका छन् । जेनजी प्रदर्शनसँगै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । प्रदर्शन हिंसात्मक बनेपछि ओलीलाई बालुवाटारबाटै सेनाले हेलिकोप्टरबाट उद्धार गरेर शिवपुरीमा राखेको थियो ।
आफू निकटका कार्यकर्ताको बलमा अहंकारयुक्त अभिव्यक्ति दिन थालेका ओली प्रवृत्तिप्रति आमनागरिक सन्तुष्ट नदेखिएको उनको अभिव्यक्तिपछि आएको सामाजिक सञ्जालका टिप्पणीहरूले समेत प्रस्ट्याएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कटाक्ष गर्दै उनले अहिलेको सरकार तोडफोड र आगजनीबाट बनेको असंवैधानिक सरकार भएको आरोप लगाए । ‘जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो,’ उनले भनेका छन् । सरकारले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको विषयमा पनि ओलीले सरकारको आलोचना गरे ।
‘पासपोर्ट रोक्ने, के ठानेको छ रु यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं रु के सोचेको रु,’ उनले भने । सरकारले आफ्नो सुरक्षाको सुनिश्चित गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा आफ्नो घरको ठेगाना सार्वजनिक गरेर फेरि हमलाको आह्वान हुँदा सरकार हेरेर बसेको आरोप लगाएका छन् । अनलाइनबाट लोकेटेट गरेर आफ्नो घर घेर्ने प्रयास भएको दाबी गरे । सरकारले आफ्नो सरकारले गरेका सबै प्रस्ताव र निर्णय बाहिर ल्याउन वर्तमान सरकारलाई चुनौती दिएका छन् ।
‘यति मिनेटमा पैदल पुगिन्छ । यति मिनेटमा गाडीमा पुगिन्छ । सबै हमला गर्न जाऔं । घर तोकिएको छ । देखाइएको छ । घर तोकेर हमला गर्ने योजना बनाइरहँदा सरकार के हेरेर बसेको छ रु सरकारमा हुनेहरूले असुरक्षाको माध्यमबाट आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने रु मौसम सधैं एकैप्रकारको हुँदैन ।’ कार्की सरकारलाई पहिलोपटक धक्का दिनेगरी सार्वजनिक अभिव्यक्ति दिएका ओलीले संवैधानिक तरिकाले निकास निकाल्न राजनीतिक दलदेखि सबैलाई आह्वानसमेत गरेका छन् ।
आजको मध्यान्ह दैनिकमा समाचार छ ।



































