कावासोती गोल्डकपमा हेटौंडा फुटबल एकेडेमीको प्रभावशाली आगमन

हेटौंडा । नवलपुर जिल्लामा सञ्चालन भइरहेको पहिलो संस्करणको कावासोती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले दमदार प्रदर्शनसहित प्रतियोगिताको सुखद् सुरुवात गरेको छ । मंगलबार कावासोती नगरपालिका–आधारित सनलाइट एसडीसीको आयोजनामा सम्पन्न खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कावासोती ‘बी’ टोलीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रमण र रक्षामा उत्कृष्ट तालमेल देखाएको हेटौंडा टोलीले खेललाई पूर्ण रूपमा नियन्त्रणमा राख्दै आयोजक टोलीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । आत्मविश्वासपूर्ण खेल प्रदर्शन गर्दै हेटौंडाले पहिलो हाफको ३२औँ मिनेटमा दिवस श्रेष्ठको गोलमार्फत अग्रता लिएको थियो । मिडफिल्डमा बल पोजेसनमा स्पष्ट पकड जमाउँदै हेटौंडाले आक्रमणका अवसरहरू सिर्जना गरिरह्यो ।

दोस्रो हाफमा पनि खेलको लय कायम राखेको हेटौंडा फुटबल एकेडेमीका लागि दिवस श्रेष्ठले १३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । रक्षात्मक रूपमा अनुशासित देखिएको हेटौंडा टोलीले आयोजकलाई गोल गर्ने सहज मौका दिन सकेन । त्यसपछि उमेश सञ्जेलले १६औँ मिनेटमा गोल गर्दै स्कोर ३–० पुर्‍याए ।

लगातार दबाबमा परेको आयोजक टोलीविरुद्ध हेटौंडाका मिलन स्याङ्तानले अन्तिम गोल गर्दै खेल ४–० मा टुंग्याए । उत्कृष्ट प्रदर्शन गरेका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पुरस्कारबाट सम्मानित भए ।

अब हेटौंडा फुटबल एकेडेमीले यही शनिबार हुने क्वार्टरफाइनल खेलमा सेमीफाइनल प्रवेशका लागि जस्टजोन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सेमीफाइनलमा पराजित हुने दुई टोलीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको छ ।

कावासोती नगरपालिकाको प्रवर्द्धन तथा वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस १६ गते हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.