महिला टी–२० छनोट : नेपालको भाग्य आज स्कटल्यान्डसँगको खेलमा टुंगिँदै

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपाल आज निर्णायक मोडमा उभिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे स्कटल्यान्डविरुद्ध हुने खेलले नेपालको भविष्य तय गर्नेछ ।

अघिल्लो चरणमा पुग्न नेपाललाई जित अनिवार्य छ । तर जित मात्रै काफी नहुने अवस्था छ । स्कटल्यान्डलाई कति ठूलो अन्तरले पराजित गरिन्छ भन्ने कुरा र त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजाले पनि नेपालको सम्भावना निर्धारण गर्नेछ ।

नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो रहनेछ । तर यदि थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो भने नेपाल र स्कटल्यान्ड दुवैको २–२ जित र ४–४ अङ्क हुनेछ । यस्तो अवस्थामा स्कटल्यान्डको नेटरनरेट बलियो भएकाले नेपालले ठूलो जित निकाल्नुपर्ने दबाब रहनेछ ।

आजको खेलमा पराजय भोगे नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड स्वतः छनोट हुनेछन् । नेदरल्यान्ड्स भने यसअघि नै छनोट भइसकेको छ ।

नेपालले प्रतियोगिताको सुरुवात थाइल्यान्डसँग ८ विकेटको हारबाट गरेको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भयो । तेस्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई हराउँदै आशा जीवित राखेको हो ।

१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहका शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.