हेटौंडा उपमहानगरपालिका–१९ स्थित बिगट गाउँ, लेकपानीमा रहेको जीवनज्योती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाका लागि खाद्यान्न सहयोग गरिएको छ। क्युवानिज इन्टरनेशनल, क्युवानिज क्लब अफ हेटौंडा नेपाल तथा हेटौंडा मोडेल अस्पताल प्रा. लि.को संयुक्त प्रायोजनमा उक्त सहयोग प्रदान गरिएको हो।
विद्यालयका विद्यार्थीहरू भोककै कारण पठनपाठनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले विगत दुई वर्षदेखि यी संस्थाहरूले खाद्यान्न, विद्यालय पोशाक तथा विद्यालय ब्यागलगायत सामग्री सहयोग गर्दै आइरहेको संस्थाका प्रतिनिधि कमलचन्द्र सुमनले जानकारी दिए।
अत्यन्तै बिगट बस्ती तथा विपन्न परिवारका बालबालिका गरिबीका कारण प्रायः भोकै विद्यालय आउन बाध्य छन्। धेरै अभिभावकहरू वैदेशिक रोजगारीका लागि विदेश जानु परेकाले बालबालिका घरमा वृद्ध हजुरबुबा–हजुरआमाको रेखदेखमा हुर्किरहेका छन्। चरम आर्थिक अभावका कारण उनीहरूको पालनपोषणमा समेत समस्या देखिएको सुमनले बताए।
यद्यपि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेको भए पनि सो रकम पर्याप्त नभएको विद्यालयको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै संस्थाहरूले विद्यालयमै पुगेर ३० बोरा चामल वितरण गरेका हुन्।
खाद्यान्न वितरण कार्यक्रममा संस्थाका प्रतिनिधिहरू कमलचन्द्र सुमन, रत्नदेव बज्राचार्य, गङ्गा पौडेल, हीमा बिडारी तथा विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थिति रहेको थियो।



































