मकवानपुरमा निर्वाचन सुरक्षा कडा : चारै सुरक्षा निकाय संयुक्त परिचालन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया सुरक्षित र व्यवस्थित बनाउन चार वटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन भएका छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन प्रहरी (म्यादी) टोलीलाई सबै स्थानीय तह र मतदान केन्द्र आसपास खटाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सुरक्षा घेरा तयार गरिनुका साथै सुरक्षाकर्मीहरू पालिकास्तरसम्म पुगिसकेका छन्।

मतदानलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सुरक्षा निगरानी थप सुदृढ पारिएको छ। मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम प्रदान गरेपछि मतपेटिका र सुरक्षाकर्मी एकसाथ परिचालन गरिने तयारी गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीका अनुसार मतदान केन्द्रको सुरक्षा अवस्था मूल्याङ्कन, नियमित गस्ती, पेट्रोलिङ र पिकेट जाँच कार्य सुरु भइसकेको छ। विशेषगरी कैलाश गाउँपालिकाका मतदान स्थललाई संवेदनशील मान्दै सुरक्षा टोलीले स्थलगत अनुगमन गरिरहेको छ।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको सुरक्षा, राजनीतिक गतिविधिको निगरानी र मतदान केन्द्रको पूर्वाधार सुरक्षामा विशेष ध्यान दिइएको छ। आवश्यक सवारीसाधन, हतियार र अन्य बन्दोबस्ती तयारी पूरा भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, वडा तहसम्म समन्वय सुदृढ बनाउन एकीकृत संयन्त्र गठन गरिएको छ। राजनीतिक दल, नागरिक समाज, सञ्चार तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई समेटेर सहकार्य संरचना तयार गरिएको हो। जिल्ला सुरक्षा समितिले उक्त संयन्त्रसँग सहकार्य गर्दै निर्वाचनप्रति जिम्मेवारी र अपनत्व अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

जिल्ला सुरक्षा समितिमार्फत शान्ति सुरक्षा कायम गर्ने, जनशक्ति परिचालन गर्ने तथा निर्वाचन आचारसंहिताको पालना गराउने कार्यलाई प्राथमिकतामा राखिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.