अहिंसा, सत्य र संयमको मार्ग देखाउने महावीर जैन को २६२५औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
इसापूर्व ५९९ मा वैशाली नजिकैको कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाका पुत्रका रूपमा जन्मिएका महावीरले राजसी जीवन त्यागेर आत्मज्ञानको खोजीमा १२ वर्ष कठोर तपस्या गरेका थिए। त्यसपछि प्राप्त ज्ञानमार्फत उनले मानव समाजलाई सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको मार्गमा हिँड्न प्रेरित गरेका थिए।
नेपाल जैन परिषद् का अध्यक्ष सुशीलकुमार जैनका अनुसार जैन धर्मका २४ तीर्थङ्करमध्ये महावीर एक प्रमुख व्यक्तित्व हुन्। उनले अरूलाई दुःख नदिनु नै अहिंसा र परोपकार नै सच्चा धर्म भएको सन्देश दिएका थिए।
उनको प्रसिद्ध ग्रन्थ उत्तर अध्याय सूत्र को नेपाली अनुवाद मानव मिलन केन्द्रका संस्थापक डा. मणिभद्र मुनिजीले गरेका छन्।
यस अवसरमा नेपाल जैन परिषद् लगायत विभिन्न संस्थाहरूले देशभर प्रवचन, पूजा–अर्चना तथा सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।















