हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा उद्योग प्रशासनसम्बन्धी सेवा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग दर्ता, नवीकरण, नामसारीलगायतका सेवा अनलाइनबाटै उपलब्ध गराउने गरी सरकारले तयारी अघि बढाएको हो।
हाल उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग प्रशासनका केही सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा छन्। यही प्रणालीलाई विस्तार गर्दै आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका सबै जिल्लामा पुर्याउने तयारी भइरहेको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता कुमार तामाङका अनुसार प्रदेशका १३ वटै जिल्लामा उद्योग प्रशासन सेवा अनलाइनमार्फत सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
यसअघि चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय घोषणा गरिएको छ। आगामी आर्थिक वर्षमा प्रदेशका सबै १३ वटा कार्यालयलाई नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले नमूना कार्यालय व्यवस्थापनका लागि आवश्यक मापदण्डसमेत तयार गरिसकेको छ। उद्योग प्रशासनलाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता कम गर्ने सरकारको तयारी छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रदेशमा मन्त्रालय मातहत करिब ४ हजार ९५६ उद्योग र २ हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन्।
यस्तै बजारमा हुने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि नियमित र आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।
























