हेटौँडा । हेटौँडा–११ सिमलटारका स्थानीयवासीले आफ्नो क्षेत्रका समस्या तथा लालपुर्जासम्बन्धी विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीसमक्ष राखेका छन् ।
रास्वपा हेटौँडा नगरको आयोजना तथा सिमलटार टोल विकास समितिको समन्वयमा सिमलटारमा आयोजित भेटघाट तथा जनगुनासो कार्यक्रममा स्थानीयवासीले आफ्ना समस्या सुनाउँदै समाधानका लागि पहल गर्न सांसद उप्रेतीको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा सिमलटार टोल विकास समितिका अध्यक्ष तथा राष्ट्रिय भूमि अधिकार मञ्चका जिल्ला अध्यक्षले सांसद उप्रेतीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद उप्रेतीले यसै साउन महिनाभित्र मकवानपुरमा पहिलो चरणको लालपुर्जा वितरण सुरु हुने दाबी गरे । उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताए ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासको विषय प्राथमिकताका आधारमा चौथो स्थानमा रहेको उल्लेख गर्दै उप्रेतीले लामो समयदेखि बसोबास गर्दै आएका बस्ती हटाउने सरकारको योजना नरहेको स्पष्ट पारे । घर ठूलो हुँदैमा कोही सुकुम्बासी नहुने भन्दै उनले यस विषयलाई मानवीय र व्यवहारिक दृष्टिकोणबाट समाधान गर्नुपर्ने बताए ।
सांसद उप्रेतीले आफू प्रतिनिधि सभाका ४१ बैठकमध्ये ३८ वटा बैठकमा सहभागी भएको जानकारी दिँदै बफर जोन तथा लालपुर्जाविहीन सुकुम्बासीका समस्यालाई संसद्मा निरन्तर उठाउँदै आएको बताए । मनहरीमा मात्रै करिब ८ हजार ५ सय घरधुरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको उनको भनाइ थियो ।
नीति, विधि र सुशासन कायम गर्दै कानुनी राज्य निर्माणका लागि आफूहरू राजनीतिमा आएको बताउँदै उनले सामाजिक तथा राजनीतिक समस्याको गहिराइ बुझेर समाधान गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
पछिल्लो समय बढ्दै गएको आत्मदाहका घटनाप्रति चिन्ता व्यक्त गर्दै उप्रेतीले भौतिक सुखसुविधाले मात्र मानिसलाई सन्तुष्टि दिन नसक्ने बताए । सामाजिक सद्भाव, सामूहिक विश्वास र सामाजिक मूल्य–मान्यता कमजोर हुँदै गएको भन्दै उनले विकाससँगै सामाजिक पक्षलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे ।
रास्वपा हेटौँडा वडा नम्बर ११ का सभापति सञ्जीव बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उप्रेती प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रास्वपाका विभिन्न तहका नेता तथा स्थानीय गरी करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।















