हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन ले विद्यालय शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा ४ जिपिए प्राप्त गर्ने तीन विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको हो।
विद्यालयबाट रौनक भण्डारी, समिक्षा यादव र एलेक्स घिमिरेले ४ जिपिए हासिल गरेका हुन्। कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीलाई पनि प्रशंसापत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल इश्वर प्रसाद लामिछानेले पछिल्ला केही वर्षदेखि विद्यालयले गरेको शैक्षिक मेहनतको प्रतिफल यस वर्षको नतिजामा देखिएको बताउनुभयो। समुदायको विश्वास र सहयोगकै कारण विद्यालयले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको उहाँको भनाइ थियो।
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी १ सय २१ विद्यार्थीमध्ये ५२ जनाले ३.६ भन्दा माथि जिपिए प्राप्त गरेका छन्। त्यस्तै ५० जनाले ३.२ देखि ३.५९ तथा १७ जनाले २.८ देखि ३.१९ जिपिए ल्याएर उत्तीर्ण भएका छन्।
विद्यार्थी सम्मान कार्यक्रमसँगै कक्षा १० मा अध्ययनरत विद्यार्थी र अभिभावकबीच आगामी शैक्षिक योजना तथा कार्यक्रमबारे अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, हेटौँडा कार्यालयका प्रमुख बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो। साथै शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति तथा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।















