हेटौँडा उपमहानगरपालिका ले शैक्षिक सत्र २०८३ देखि सातामा दुई दिन सार्वजनिक बिदा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। शुक्रबार शिक्षा विकास महाशाखाले जारी गरेको परिपत्रमार्फत उपमहानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शनिबार र आइतबार बिदा कार्यान्वयन गर्न भनिएको हो।
परिपत्रअनुसार अब विद्यालयहरूले सोमबारदेखि शुक्रबारसम्म नियमित तथा पूर्ण समय पठनपाठन सञ्चालन गर्नुपर्नेछ। साथै, वर्षे र स्थानीय बिदालाई घटाएर ३० दिनमा सीमित गरिएको छ भने साप्ताहिक तथा वार्षिक कार्यघण्टा मिल्ने गरी शैक्षिक क्यालेण्डर तयार गर्नुपर्ने व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले प्रथम र द्वितीय त्रैमासिक परीक्षालाई नियमित पठनपाठनकै समयमा सञ्चालन गर्नुपर्ने तथा वार्षिक परीक्षाका लागि अन्तिम १२ दिन छुट्याउनुपर्ने प्रावधानसमेत उल्लेख गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि विद्यालयमा सातामा दुई दिन बिदा दिने व्यवस्था लागू गरिएको थियो। सोही निर्णय कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समय व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेपछि स्थानीय तहहरूले पनि विद्यालयलाई परिपत्र पठाउन थालेका हुन्।
यसबीच केही निजी विद्यालयले सार्वजनिक बिदाको दिन पनि पठनपाठन सञ्चालन गरेको गुनासो आएपछि उपमहानगरपालिकाले स्पष्ट निर्देशन जारी गरेको जनाएको छ। शुक्रबार समुदाय तथा परिवारसँग सम्बन्धित गतिविधि, सूचना प्रविधिमा आधारित परियोजना तथा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिन पनि विद्यालयहरूलाई आग्रह गरिएको छ।















