मकवानपुरको इन्द्रसरोवर ताल आसपास तथा मार्खु पर्यटकीय क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय, स्थानीय संघसंस्था तथा कर्मचारीहरूको संयुक्त सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।
सरसफाइ कार्यक्रममा मत्स्य विकास केन्द्रका प्रमुख भिमदत्त भट्टसहित केन्द्रका सम्पूर्ण कर्मचारी सहभागी भएका थिए। त्यसैगरी भैरव गण चनवन का सेनानी मिलनकुमार जोशी र सह–सेनानी फत्त नारायण श्रेष्ठको नेतृत्वमा १५५ जनाको टोली परिचालन गरिएको थियो।
यस्तै श्री नं. ३ राजदल गण क्युवेक ब्याट्री कुलेखानी बाट सह–सेनानी अर्जुन परियारको कमाण्डमा ३५ जनाको टोली तथा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस कुलेखानी बाट सशस्त्र प्रहरी निरीक्षक युवराज कार्कीको नेतृत्वमा ३५ जनाको टोली सरसफाइ अभियानमा खटिएको थियो।
कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–१ का कर्मचारी, नेपाल विद्युत प्राधिकरणअन्तर्गत प्रथम जलविद्युत आयोजना मार्खु शाखा, पालुङ वितरण केन्द्र फ्युज शाखा मार्खु, अस्थायी प्रहरी बिट मार्खु, इन्द्रसरोवर मत्स्य व्यवसायिक संघ तथा इन्द्रसरोवर डुंगा संघका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
मार्खु स्वास्थ्य चौकीका कर्मचारीसहित करिब ३०० जनाको सहभागितामा सम्पन्न कार्यक्रम संघीय सरकारको सरसफाइ सप्ताहअन्तर्गत बजेटविनै सञ्चालन गरिएको मत्स्य विकास केन्द्रले जनाएको छ।
पर्यटकीय क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने भएको छ। केन्द्रले प्रत्येक शुक्रबार कार्यालय परिसर र इन्द्रसरोवर ताल क्षेत्रमा नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।















