११९ वटै पालिकामा रैथाने उत्पादन प्रवर्द्धन कार्यक्रम ल्याइने : बानियाँ

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले आफ्नो सरकार पारदर्शी, स्पष्ट र प्रतिबद्ध रहेको दाबी गर्दै सरकारले बोलेका कुरा व्यवहारमा समेत कार्यान्वयन गर्ने बताएका छन्।

मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री बानियाँले सरकार ‘भित्र र बाहिर एउटै’ रहेको उल्लेख गर्दै सरकारलाई गाजरसँग तुलना गरे।

उनले केही मानिसको स्वभाव खरबुजाजस्तो हुने—बाहिर एउटा र भित्र अर्कै हुने—भन्दै आफ्नो सरकार भने गाजरजस्तो रहेको बताए। “जो बाहिर पनि रातो र भित्र पनि रातो हुन्छ। हामी जे बोल्छौँ, त्यही गर्छौँ,” उनले भने।

मुख्यमन्त्री बानियाँले आगामी बजेटमा स्थानीय तथा रैथाने उत्पादनलाई विशेष प्राथमिकता दिइने जानकारी दिए। प्रदेशका ११९ वटै स्थानीय तहमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रम ल्याइने तथा सूचकका आधारमा पछाडि परेका पालिकाहरूमा रैथाने उत्पादन सङ्कलन केन्द्र र प्रशोधन केन्द्र स्थापना गरिने उनले बताए।

यस्तै, ‘एक पालिका, एक खाना घर’ अवधारणालाई आगामी बजेटमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उनले स्पष्ट पारे।

उनले नीति तथा कार्यक्रममा समेटिन नसकेका विषयहरू आगामी बजेटमार्फत सम्बोधन गरिने उल्लेख गर्दै दलित सशक्तीकरणका लागि निश्चित बजेट विनियोजन गरिने बताए। नीति तथा कार्यक्रम मार्गनिर्देशक दस्ताबेज मात्र भएको र बजेटमार्फत ठोस कार्यक्रम तथा रकमसहित कार्यान्वयनमा जाने उनको भनाइ थियो।

मुख्यमन्त्री बानियाँले संसद् विचार विमर्श र रचनात्मक बहसको थलो भएको उल्लेख गर्दै सरकारले आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्ने बताए। साथै, सरकार किसान, मजदुर तथा श्रमजीवी वर्गको पक्षमा रहेको र सीप विकास तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.