काठमाडौं, २२ जेठ — ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आज विश्व वातावरण दिवस २०२६ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र दिगो विकासका विषयमा जनचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ।
वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा विभिन्न सरोकारवालाको सहभागितामा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम गरिने विभागले जनाएको छ।
विश्व वातावरण दिवसको सुरुवात सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजित संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनपछि भएको हो। वातावरणीय संरक्षणका लागि विश्व समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा घोषणा गरेको थियो। त्यसपछि सन् १९७३ देखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।
नेपालमा पनि सन् १९८० को दशकदेखि यो दिवस औपचारिक रूपमा मनाउन थालिएको थियो। अहिले भने विद्यालय, स्थानीय तह, युवा क्लब, सामाजिक संस्था तथा समुदायस्तरमा वृक्षारोपण, सरसफाइ अभियान र जनचेतनामूलक कार्यक्रम गरी व्यापक रूपमा मनाउने गरिन्छ।
किन महत्वपूर्ण छ विश्व वातावरण दिवस ?
विश्व वातावरण दिवस केवल एक औपचारिक दिवस मात्र होइन, पृथ्वी र मानव जीवनको भविष्यसँग जोडिएको विश्वव्यापी अभियान हो। बढ्दो प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहन तथा जैविक विविधताको क्षयीकरणजस्ता समस्याप्रति विश्व समुदायलाई सचेत गराउनु यसको मुख्य उद्देश्य हो।
विज्ञहरूका अनुसार वातावरणीय सन्तुलन बिग्रँदा प्राकृतिक विपद्, खाद्य संकट, पानीको अभाव तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्ने जोखिम रहन्छ। त्यसैले वातावरण संरक्षणलाई व्यक्तिगत, सामुदायिक र सरकारी तहबाट साझा जिम्मेवारीका रूपमा लिनुपर्ने सन्देश यो दिवसले प्रवाह गर्छ।
दिवसले हरित विकास, प्राकृतिक स्रोतको दिगो उपयोग तथा भावी पुस्ताका लागि स्वच्छ र सुरक्षित वातावरण निर्माणमा सबैको सहभागिता आवश्यक रहेको कुरामा जोड दिने गरेको छ।

















