काठमाडौं — गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का ७ जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा ७ जना नवनियुक्त डीआईजीको पदस्थापन गरेको छ। संगठनभित्र नेतृत्व व्यवस्थापन र जिम्मेवारी पुनः बाँडफाँट गर्ने उद्देश्यसहित यो निर्णय गरिएको हो।
मन्त्रालयको निर्णयअनुसार विष्णुप्रसाद भट्टलाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारीलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही तथा कृष्णराज पाठकलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरुवा गरिएको छ।
त्यसैगरी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ।
गत वैशाख १२ गते डीआईजी पदमा बढुवा सिफारिस भएका अधिकृतहरूको समेत पदस्थापन गरिएको छ। यसअनुसार दिग्विजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापन गरिएको छ।
यस्तै किरण बस्नेतलाई नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा प्रवीण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा खटाइएको छ।
अन्य पदस्थापनअनुसार राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय तथा राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा जिम्मेवारी दिइएको छ।
सशस्त्र प्रहरीमा गरिएको यो व्यापक हेरफेरलाई संगठनको कमाण्ड संरचना सुदृढीकरण, कार्यसम्पादन सुधार र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउने कदमका रूपमा हेरिएको छ।

















