१६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन बागमती प्रदेशले एथलेटिक्समा प्रभावशाली प्रदर्शन गर्दै सर्वाधिक ११ स्वर्ण पदक जितेको छ। बागमतीले एथलेटिक्सतर्फ ७ रजत र ५ कांस्य पदक समेत आफ्नो नाममा पार्दै प्रतियोगितामा वर्चस्व कायम गरेको हो।
एथलेटिक्सका २६ स्पर्धामध्ये बागमती अग्रस्थानमा रहँदा सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो। लुम्बिनीले ५ स्वर्ण, ९ रजत र ५ कांस्य हात पार्दा गण्डकीले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णालीले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते। कोशी प्रदेशले स्वर्ण पदक जित्न नसके पनि २–२ रजत र कांस्य प्राप्त गर्यो भने मधेश प्रदेश एथलेटिक्समा पदकविहीन रह्यो।
दशरथ रंगशालामा सम्पन्न अन्तिम दिनको प्रतिस्पर्धामा छात्र २०० मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार स्वर्ण विजेता बने। छात्रातर्फ सोही स्पर्धामा लुम्बिनीकी गरिमा चौधरी पहिलो भइन्। छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही तथा छात्रातर्फ लुम्बिनीकी अन्जुली मल्लले स्वर्ण जिते।
ट्रिपल जम्पतर्फ छात्रमा सुदूरपश्चिमका विक्रमनाथ र छात्रामा बागमतीकी अनिशा थारु विजयी भए। ४×१०० मिटर रिलेको छात्रतर्फ लुम्बिनी र छात्रातर्फ बागमती प्रदेशले स्वर्ण जिते।
प्रतियोगितामा तीनवटा जुनियर राष्ट्रिय कीर्तिमान पनि बने। बागमतीका अविनाश सुनारले छात्र हाइजम्पमा १.८६ मिटर उफ्रँदै नयाँ कीर्तिमान बनाए। बागमतीकै भगवती खड्काले छात्रा ४०० मिटर दौडको हिट चरणमा ५८.९४ सेकेन्डको समय निकाल्दै कीर्तिमान रचिन्। उनले प्रतियोगितामा कुल चार स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरिन्।
त्यसैगरी, गण्डकी प्रदेशको ४×४०० मिटर रिले टोलीले ३ मिनेट २७.९ सेकेन्डमा दौड पूरा गर्दै अर्को जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्यो।
तेक्वान्दोतर्फ बागमतीले १२ स्वर्णमध्ये ५ स्वर्ण जित्दै शीर्ष स्थान ओगट्यो। सुदूरपश्चिम र मधेशले समान २–२ स्वर्ण जित्दा कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण हात पारे।
करातेमा भने कोशी प्रदेश सर्वाधिक सफल रह्यो। कोशीले ३ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दा लुम्बिनी र सुदूरपश्चिमले समान ३–३ स्वर्ण जिते। बागमतीले २ तथा मधेशले १ स्वर्ण पदक जित्दै प्रतियोगिता टुंग्याए।
प्रतियोगिताको अन्तिम दिन विभिन्न खेलमा भएका उत्कृष्ट प्रदर्शनले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै राष्ट्रिय खेलकुदको भविष्यप्रति थप आशा जगाएको छ।

















