नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उपसमितिको बैठक संविधान पुनरावलोकनसम्बन्धी प्रस्ताव तयार गर्ने तथा संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विषयमा छलफल गर्दै सम्पन्न भएको छ ।
उपसमितिका संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि तथा देखिएका व्यावहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा छलफल भएको एमालेले जनाएको छ ।
बैठकमा संविधान संशोधन आवश्यक देखिएका विषय पहिचान गरी राजनीतिक, संवैधानिक, प्रशासनिक तथा कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा समेत छलफल भएको थियो ।
त्यस्तै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे छलफल गरिएको जनाइएको छ ।
प्राप्त सुझावलाई विषयगत रूपमा वर्गीकरण गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा उपसमिति संयोजक अग्निप्रसाद खरेलसहित सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापाको उपस्थिति थियो । पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेल विज्ञका रूपमा बैठकमा सहभागी हुनुभएको थियो ।















