प्रदेश सरकारको संकटसँगै ओली–प्रचण्ड संवाद, फेरि वाम गठबन्धनको चर्चा

लामो समयदेखि टाढिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि संवाद र सहकार्यको सम्भावनातर्फ अघि बढेका छन् । प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धन संकटमा परेसँगै दुई नेताबिचको भेटवार्ताले नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

मंगलबार ओली र प्रचण्डबिच करिब दुई घण्टा छलफल भएको थियो । प्रचण्डले प्रदेशमा निर्वाचित दलहरूको सहभागितामा सर्वदलीय सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावप्रति ओली सकारात्मक देखिए पनि तत्काल कुनै ठोस निर्णय भने नभएको दुवै पक्षले बताएका छन् ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार प्रचण्डले संविधान, गणतन्त्र पक्षधर तथा देशभक्त शक्तिहरूसँग सहकार्य गर्दै प्रदेशमा सर्वदलीय गठबन्धन बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेससँग पनि छलफल अघि बढाउने तयारी रहेको उनले बताएका छन् ।

ओलीसँग भेट गरेपछि जनकपुर पुगेका प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिबिच सहकार्यको वातावरण बनेको बताएका थिए । उनले नेपाली कांग्रेससँग पनि छलफल जारी रहेको जानकारी दिएका थिए ।

एमाले सचिव महेश बस्नेतले भने सम्भावित सहकार्य प्रदेश सरकार गठनमा मात्र सीमित नभई राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिबिचको सहकार्यतर्फ अघि बढ्नुपर्ने बताएका छन् ।

तर, ओली र प्रचण्डबिचको सहकार्यको इतिहास उतारचढावपूर्ण छ । २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भए पनि सत्ता र शक्ति संघर्षका कारण त्यो एकता लामो समय टिक्न सकेन । त्यसपछि पनि दुई नेताबिच पटक–पटक सत्ता सहकार्य भए पनि सम्बन्ध लामो समय टिक्न सकेन ।

विगतमा ओली र प्रचण्डले एकअर्कालाई विश्वासघात गरेको आरोपसमेत लगाउँदै आएका छन् । २०८१ सालमा ओलीले कांग्रेससँग सत्ता सहकार्य गरेपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । त्यसअघि २०७९ को निर्वाचनपछि प्रचण्डले एमालेको समर्थनमा सरकार गठन गरे पनि दुई महिनामै कांग्रेससँग सहकार्य गरेका थिए ।

यही कारण अहिलेको ओली–प्रचण्ड संवादलाई लिएर वामपन्थी वृत्तमै मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपय नेताले वाम शक्तिबिच सहकार्य आवश्यक रहेको बताएका छन् भने केहीले पुरानै नेतृत्वबाट नयाँ वाम एकता सम्भव नहुने तर्क गरेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन पुनर्गठनका लागि ओली, प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन् । एमाले र नेकपाभित्र पनि नेतृत्व परिवर्तन र पुस्तान्तरणको आवाज उठिरहेका बेला शीर्ष नेताहरूबीचको नयाँ संवादले वाम राजनीतिमा थप बहस जन्माएको छ ।

यद्यपि, अहिलेको संवाद तत्काल सत्ता सहकार्यमा सीमित हुन्छ वा भविष्यमा वाम गठबन्धन तथा पार्टी एकताको दिशातर्फ अघि बढ्छ भन्ने स्पष्ट भइसकेको छैन । एमालेका प्रवक्ता लेखराज भट्टले भने संवादहीनता अन्त्य हुनु सकारात्मक भएको र सहकार्यको स्पष्ट खाका बन्न सक्ने बताएका छन् ।

विगतको तिक्तता, पटक–पटकको सत्ता सहकार्य र बदलिँदो राजनीतिक समीकरणका बीच फेरि नजिकिएका ओली–प्रचण्डको सम्बन्ध यसपटक कति लामो टिक्छ भन्ने विषय भने नेपाली राजनीतिमा चासोको विषय बनेको छ ।रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.