नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट दलले स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गरेका छन् ।
विसं १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलाल शहीद गङ्गालालका भाइ हुन् । उनले प्रवासमा रहेर नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका पुष्पलालले विभिन्न लेख तथा कृतिमार्फत नेपाली समाजको वर्गीय विश्लेषणसमेत गरेका थिए ।
विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यसअघि विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर उनले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए ।















