मनहरी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँ कमिटी अध्यक्ष वीर बहादुर घलान(आनन्द)ले पार्टीबाट अलग भएको घोषणा गरेपछि मनहरी गाउँ कमिटीको अध्यक्ष पदमा एकराज पुरी चयन भएका छन्।हिजो शनिबार मनहरीमा बसेको पार्टीको अन्तिम बैठक तथा भेलाले सर्वसम्मत रूपमा पुरीलाई पार्टीको नेतृत्व सुम्पने निर्णय गरेको पार्टीका बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) ले बताए ।
नव–निर्वाचित अध्यक्ष पुरी यसअघि मनहरी गाउँ कमिटीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए। लामो समय शिक्षण पेशामा संलग्न रहेका पुरी पछिल्लो समय सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
पार्टीका जिल्ला इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विजय गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टीबाट अलग भएको घोषणा गरेका वीर बहादुर घलान (आनन्द) लाई कारबाही गरेको र यही मंसिर २९ गते मनहरी गाउँपालिका स्तरीय भेला आयोजना गर्ने निर्णय समेत गरेको नेपाली कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा पश्चिम मकवानपुर मनहरीका नेता प्रकाश थापाले बताएका छन।
अन्तिम बैठकमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान, सीता पुलामी मगर, प्रदेश कमिटी सदस्य राजकुमार पाख्रिन, रामहरि सुवेदी, पार्टीका नेता ध्रुव खड्का, प्रकाश थापा, वाईसीएल केन्द्रीय सदस्य दीपेन्द्र अधिकारी तथा वाईसीएल नेता मदन उप्रेतीलगायतको उपस्थिति रहेको थियो।




































