अँध्यारोको अन्त्य: बागमतीकाे देउजर–गढनसिर झिलिमिली

बागमती गाउँपालिकाको विकट बस्ती देउजर र गढनसिरमा पहिलोपटक विद्युत् सेवा पुगेको छ। मंगलबार गाउँपालिका अध्यक्ष सर्केश घलानले रिवन काटेर बिजुली बाल्दा स्थानीय खुसीले झुम्मिए।

पहिले साँझ पर्नासाथ अँध्यारो हुने गाउँमा अब बल्बको उज्यालो फैलिएको छ। मोबाइल चार्ज गर्न टाढा जानुपर्ने बाध्यता हटेको छ भने बालबालिका उज्यालो कोठामा पढ्न पाएका छन्।

पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ मा पर्ने यी बस्तीमा ६२ घर देउजरमा र १७ घर गढनसिरमा विद्युत् लाइन विस्तार गरिएको हो। नेपाल विद्युत् प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने गाउँपालिकाले आवश्यक संरचना व्यवस्थापन गरेको छ।

खोल्सा, भीर र अप्ठ्यारो भूगोलका कारण ढिलाइ भएको योजना यस वर्ष स्थानीयको श्रमदान, गाउँपालिकाको लगानी र प्राधिकरणको सहयोगमा पूरा भएको हो। स्थानीयले पोल बोक्दै उकालो–ओरालो गरेर काममा सघाएका थिए।

गाउँपालिका अध्यक्ष घलानले बिकट र विपन्न समुदायलाई प्राथमिकतामा राखेर विकास गरिएको बताए। उनका अनुसार विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।

स्थानीय दिलबहादुर पाख्रिनले अब गाउँमै बस्ने आशा बढेको बताए। ‘बत्ती आयो, सडक आयो, अब गाउँ छोड्नुपर्दैन जस्तो लाग्छ,’ उनले भने।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.