ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई अझ सरल, छरितो र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित किओस्क मेसिनमार्फत बैंक खाता खोल्ने सुविधा सुरु गरेको छ। बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसर पारेर यो नयाँ सेवा सार्वजनिक गरेको हो।
अब ग्राहकहरूले काठमाडौंको कमलादीस्थित ग्लोबल आइएमई बैंक शाखा कार्यालयमा रहेको किओस्क मेसिन प्रयोग गरी बिना झन्झट बैंक खाता खोल्न सक्नेछन्। खाता खोल्ने क्रममा आवश्यक व्यक्तिगत विवरण ग्राहक स्वयंले मेसिनमार्फत प्रविष्ट गर्नुपर्नेछ। विवरण प्रविष्ट गरेपछि आवश्यक कागजातहरू पेश गर्दा बैंकले खाता नम्बर उपलब्ध गराउने व्यवस्था गरिएको छ।
हालका लागि यो सेवा कमलादी शाखामा रहेको डिजिटल युनिभर्सबाट मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यसअघि पनि बैंकले डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट, चेक डिपोजिटलगायतका सेवाहरू प्रदान गर्दै आएको थियो।
बैंकका अनुसार प्रविधिमैत्री बैंकिङ सेवालाई विस्तार गर्ने लक्ष्यअनुसार भविष्यमा यस्ता किओस्क सेवा अन्य शाखा र विभिन्न स्थानमा पनि विस्तार गर्ने योजना रहेको छ। यस पहलले बैंकिङ सेवामा ग्राहकको समय बचत गर्नुका साथै डिजिटल बैंकिङ संस्कृतिलाई थप प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।



































