हेटौंडामा नेपाल प्रहरी विद्यालयको “सातौं वार्षिक उत्सव एवं अभिभावक दिवस–२०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख तथा विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यमा आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखाका प्रतिनिधि अर्जुन सिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेलगायतको उपस्थिति रहेको थियो।
यसका साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्राचार्य, प्रहरी कार्यालयका प्रमुखहरू, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक प्रहरी नायव महानिरीक्षक रेग्मीले शैक्षिक गुणस्तर, अनुशासन र नैतिक मूल्य प्रवर्द्धनमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय हुन प्रेरित गर्नुभयो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा कराँते प्रदर्शन प्रस्तुत गरेका थिए। साथै नेपाल प्रहरी ब्याण्ड र विपद् व्यवस्थापन टोलीद्वारा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रदर्शन गरिएको थियो।
विद्यालयले शैक्षिक, सांस्कृतिक तथा सचेतनामूलक गतिविधिहरू समेट्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। साथै कार्यक्रमका क्रममा खिचिएका तस्बिरहरू विद्यालयको प्रचार–प्रसार प्रयोजनका लागि संलग्न गरिएको जानकारी दिइएको छ।


































