हेटौँडा, मकवानपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी का अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) र करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी) खटाइने तयारी गरिएको छ।
तर, कति जना जनपथ प्रहरी परिचालन हुने भन्ने विषय हालसम्म स्पष्ट नभएको प्रहरी उपरीक्षक श्यामबहादुर खत्री ले बताउनुभयो। उनका अनुसार प्रहरीको आउने–जाने क्रम जारी रहेकाले अन्तिम संख्या टुंगोमा पुगेको छैन।
“केही प्रहरी अन्यत्र स्थानान्तरण हुने प्रक्रिया र प्रदेश प्रहरी कार्यालयबाट थप बल आउन बाँकी भएकाले अबको केही दिनभित्र मात्र यकिन संख्या सार्वजनिक गर्न सकिनेछ,” खत्रीले जानकारी दिनुभयो।
प्रशासनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रुपमा सम्पन्न गर्न सुरक्षाको तयारी चरणबद्ध रूपमा अघि बढाइरहेको छ।
कर्मचारी परिचालन
मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी मतदानका लागि परिचालित हुने छन्।
जिल्लामा ३७४ मतदान केन्द्र छन्।
प्रत्येक मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र तीन जना स्वयंसेवक राखिने व्यवस्था गरिएको छ।
यसरी २,२४४ कर्मचारी र १,१२२ स्वयंसेवक मतदान अवधिभर परिचालित हुने छन्।
निर्वाचन स्थलको संवेदनशीलता अनुसार थप निर्वाचन प्रहरी पनि खटाइनेछ।
मतदान केन्द्र र मतदाता विवरण
निर्वाचन क्षेत्र नं. १: ६२ मतदान स्थल, १७८ मतदान केन्द्र
निर्वाचन क्षेत्र नं. २: १०५ मतदान स्थल, १९६ मतदान केन्द्र
पूर्वसदरमुकामको भीमफेदी कारागारमा र हेटौँडामा कर्मचारीका लागि अस्थायी मतदान केन्द्र रहने
कुल मतदाता: ३,१५,३३४
क्षेत्र १: पुरुष ७९,६२१, महिला ७८,८१०, अन्य ४ = १,५८,४३५
क्षेत्र २: पुरुष ८२,३३२, महिला ७४,५६६, अन्य १ = १,५६,८९९
निर्वाचन सामग्रीको व्यवस्थापनमा ५२ प्रकारका सामग्री, जस्तै मसी, मतपेटिका आदि, आयोग र कार्यालयमार्फत उपलब्ध गराइनेछ।























































