फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागमती प्रदेशको राजधानी हेटौँडामा तालिमप्राप्त निर्वाचन प्रहरीको नमुना अभ्यास सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा तालिम समापनसँगै निर्वाचनका समयमा सुरक्षाकर्मी कसरी परिचालित हुने भन्ने विषयमा व्यवहारिक अभ्यास गरिएको थियो। नमुना मतदान केन्द्र निर्माण गरी मतदान प्रक्रियाका विभिन्न चरणमा निर्वाचन प्रहरीको भूमिका प्रस्तुत गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्वाचन अवधिलाई अवसरका रूपमा लिएर जिम्मेवारीपूर्ण ढंगले सेवा दिन आग्रह गरे। उनले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिँदै मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्न सहयोग गर्नु नै निर्वाचन प्रहरीको मुख्य दायित्व भएको उल्लेख गरे। उत्कृष्ट कार्य गर्ने सुरक्षाकर्मीलाई सम्मान गरिने जानकारी पनि उनले दिए।
बागमती प्रदेश निर्वाचन अधिकारी हरि ढकालले निर्वाचन प्रहरीको आचरण र व्यवहारले समग्र निर्वाचन व्यवस्थापनको छवि झल्किने भएकाले विनम्रता र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताए। उनले समय सीमित भए पनि उच्च मनोबलका साथ आचारसंहिताभित्र रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिए।
मकवानपुर जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका १ हजार ९ सय २३ र सशस्त्र प्रहरीका १ सय ७९ जना गरी कुल २ हजार १ सय २ जना निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ। ती सुरक्षाकर्मीलाई जिल्लाका १० स्थानमा १० दिने तालिम प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


































