चुनावका कारण देशभित्र आर्थिक गतिविधि बढेसँगै वैदेशिक व्यापारमा पनि उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात र १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। पुससम्म १० खर्ब ८१ अर्ब रुपैयाँ रहेको वैदेशिक व्यापार एक महिनामै झन्डै १३ खर्ब रुपैयाँ नजिक पुगेको हो।
माघमा आयातमा तीव्र वृद्धि
माघ महिनामा मात्रै १ खर्ब ८४ अर्ब ४६ करोड रुपैयाँको वस्तु आयात भएको छ। चालू आर्थिक वर्षको सात महिनामा प्रतिमहिना औसत १ खर्ब ६० अर्ब ५ करोड रुपैयाँ आयात हुने गरेकोमा माघमा औसतभन्दा करिब २४ अर्ब रुपैयाँ बढी आयात भएको देखिन्छ। पुस महिनामा १ खर्ब ७२ अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू वर्षको माघसम्म वस्तु आयात १३.६५ प्रतिशतले बढेको छ।
निर्यात पनि बढ्यो
आयातसँगै निर्यात पनि उल्लेख्य रूपमा बढेको छ। सात महिनामै निर्यात डेढ खर्ब रुपैयाँ नाघेर १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो। गत वर्ष माघसम्म निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ रहेको थियो।
व्यापार घाटा विस्तार
आयातको हिस्सा उच्च रहँदा व्यापार घाटा भने बढेको छ। माघ मसान्तसम्म व्यापार घाटा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको माघसम्म व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ थियो।
आयात र निर्यात दुवै बढेसँगै कुल वैदेशिक व्यापार १५.७६ प्रतिशतले वृद्धि भएको छ।
भारतसँग सबैभन्दा धेरै व्यापार
नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग गरेको छ। भारतबाट ६ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ भने नेपालबाट १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वस्तु भारत निर्यात भएको छ।
त्यसैगरी चीनबाट २ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ भने नेपालबाट चीनतर्फ ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
चुनावी गतिविधिले बजार चलायमान बनाए पनि बढ्दो व्यापार घाटा अर्थतन्त्रका लागि चुनौतीका रूपमा देखिएको छ।


































