मकवानपुरमा दुई अस्थायी मतदानस्थल, १९ स्थल अतिसंवेदनशील सूचीमा

हेटौंडा — फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल स्थापना गरिएको छ। प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरीप्रसाद ढकालका अनुसार भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक–एक वटा अस्थायी मतदानस्थल रहनेछ।

यी अस्थायी मतदानस्थलका लागि कुल ३ हजार ३०७ मतदाता कायम गरिएको छ। भीमफेदी कारागारमा ९ सय ९५ कैदीबन्दी रहे पनि मतदाता नामावलीमा ७५ जनाको मात्र नाम समावेश छ, जसमा ३ जना महिला र ७२ जना पुरुष रहेका छन्। अन्य कैदीबन्दीको नाम मतदाता सूचीमा नरहेको कारागार स्रोतले जनाएको छ। अस्थायी मतदानस्थलका मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ।

१६७ मतदानस्थलमध्ये १९ अति संवेदनशील

अस्थायी केन्द्रबाहेक मकवानपुरमा १६७ मतदानस्थल निर्धारण गरिएका छन्। तीमध्ये १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। सुरक्षा अवस्थाको मूल्यांकनपछि १० स्थानीय तहमध्ये ६ स्थानीय तहका केही मतदानस्थललाई अति संवेदनशील वर्गमा राखिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १९ अति संवेदनशील मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन्। प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार जिल्लाभर ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्रलाई संवेदनशील सूचीमा वर्गीकृत गरिएको छ भने ८८ मतदानस्थल सामान्य श्रेणीमा राखिएका छन्।

कुन–कुन स्थान अति संवेदनशील?

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदानस्थल र ७ मतदान केन्द्र अति संवेदनशील सूचीमा छन्। त्यस्तै राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदानस्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदानस्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदानस्थल र १ मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ।

संवेदनशील सूचीअन्तर्गत हेटौंडा उपमहानगरपालिकाका ७ मतदानस्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदानस्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदानस्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदानस्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदानस्थल र १७ मतदान केन्द्र रहेका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायले आवश्यक तयारी तीव्र बनाएको जनाएको छ।इकान्तीपुरबाट 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.