राष्ट्रिय मानव अधिकार आयोग ले निर्वाचन प्रक्रियामा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल ले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गरेका छन्। शान्तिसुरक्षामा असर पर्ने गतिविधि रोक्न, बालबालिकाको प्रयोग नगर्न तथा नगराउन र नागरिकको मानवअधिकारको पूर्ण सम्मान गर्न आयोगले नेपाल सरकारसहित सम्बद्ध सबै पक्षलाई आग्रह गरेको जनाएको छ।
चुनाव नजिकिँदै जाँदा विभिन्न स्थानमा देखिएका घटनाक्रमले शान्तिसुरक्षा र निर्वाचन वातावरण प्रभावित हुन सक्ने भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दाङलगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच देखिएको विवाद तथा रौतहट र पर्सा क्षेत्रमा समूह–समूहबीच भएको झडपका कारण कतिपय स्थानमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको उल्लेख गरिएको छ। आयोगका अनुसार यस्ता घटनाले निर्वाचन प्रक्रियामा थप चुनौती सिर्जना गरेका छन्।
त्यस्तै, राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताबाट एकअर्काप्रति गरिने अमर्यादित तथा घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरण अस्वस्थ बन्ने खतरा बढेको आयोगको ठहर छ। सामाजिक तथा सांस्कृतिक सद्भावमा असर पुग्ने किसिमका सामग्री प्रकाशन–प्रसारण नगर्न पनि आयोगले आग्रह गरेको छ।
आयोगले देशव्यापी रूपमा निर्वाचन अनुगमनलाई तीव्र बनाएकोसमेत जनाएको छ।
























































