क्यूआर र बैंक खातामार्फत ठगी बढेपछि होटल व्यवसायीलाई मकवानपुर प्रशासनको चेतावनी

हेटौँडा । मकवानपुरका होटल तथा गेस्टहाउसलाई आधार बनाएर अनलाइन ठगी तथा अन्य आपराधिक गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निगरानी बढाउन आग्रह गरेको छ।

प्रशासनले बुधबार सूचना जारी गर्दै पछिल्लो समय ग्राहकका रूपमा होटल तथा गेस्टहाउसमा बस्ने केही व्यक्तिले अनलाइन सीप, वैदेशिक रोजगारी, लगानी तथा बजार अनुसन्धानलगायतका विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गरेको जनाएको छ।

यस्ता समूहले पीडितलाई क्यूआर कोड तथा नेपाल र भारतका बैंक खातामा रकम जम्मा गर्न लगाउने, आकर्षक प्रलोभन देखाउने र विभिन्न माध्यमबाट पैसा असुल्ने गरेको प्रशासनको भनाइ छ। केही व्यक्ति लामो समयसम्म होटलमा बसेर सञ्चालकका फोन, सवारीसाधनलगायतका सुविधा प्रयोग गर्दै आपराधिक गतिविधिमा संलग्न हुने गरेकोसमेत पाइएको प्रशासनले जनाएको छ।

ठगीका घटना बढ्दै जाँदा पीडितको गुनासोसमेत बढ्न थालेपछि प्रशासनले होटल तथा गेस्टहाउस सञ्चालकलाई आफ्ना सेवाग्राहीको विवरण व्यवस्थित रूपमा राख्न निर्देशन दिएको छ। साथै, शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन र होटलभित्र हुने दैनिक गतिविधिमाथि निगरानी राख्न आग्रह गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई समेत अनलाइन वा अन्य माध्यमबाट कसैले अस्वाभाविक प्रलोभन देखाएर रकम मागेमा सतर्क रहन अनुरोध गरेको छ। शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।

यस्ता गतिविधि नियन्त्रणका लागि नागरिक, होटल व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.