हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त भएका तीन मन्त्रालयको जिम्मेवारी कांग्रेसका मन्त्रीहरूलाई तोकेका छन् ।
एमालेका मन्त्रीहरूले बुधबार राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष नयाँ कार्यविभाजन सिफारिस गरेका हुन् ।
सिफारिसअनुसार यसअघि सहकारी विषयको जिम्मेवारी सम्हाल्दै आएकी मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । पर्यटन विषय हेर्दै आएका सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यस्तै, युवा तथा खेलकुद विषय हेर्दै आएकी उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा डा. दिनेशचन्द्र देवकोटा, कृषि मन्त्रालयमा मधुसुदन पौडेल र उद्योग मन्त्रालयमा विन्दु श्रेष्ठ मन्त्री थिए । एमालेबाट मन्त्री बनेका उनीहरूसहित किरण थापा, भरत केसी र जयराम थापाले बुधबार राजीनामा दिएका थिए ।
यसैबीच मुख्यमन्त्री बानियाँले अन्य मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि मन्त्रालयको सङ्ख्या घटाएपछि केही मन्त्रालय खारेज भएका थिए । खारेज भएका मन्त्रालयका विषयगत जिम्मेवारी सम्बन्धित अन्य मन्त्रालयमा समायोजन गरिएको थियो ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन नयाँ कार्यविभाजन गरिएको बताएका छन् ।















